एयर इन्डिया एक्सप्रेसका पाइलट अरमानको बुधबार (चैत २६, २०८१ / अप्रिल ९, २०२५) मृत्यु भएको छ। श्रीनगर-दिल्ली उडानलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराए लगत्तै उनी बेहोस भएर ढलेका थिए।
उनले अवतरणपछि औपचारिकता पूरा गर्ने क्रममा असजिलो महसुस गरेका थिए। सहकर्मीका अनुसार, उनले ककपिटमै बान्ता गरेका थिए र त्यसपछि एयरलाइन्सको डिस्प्याच कार्यालयमा पुग्दा हृदयघात (कार्डियक अरेस्ट) का कारण ढले। तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।
एयर इन्डिया एक्सप्रेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। एयरलाइन्सले अनावश्यक अड्कलवाजी नगर्न आग्रह गरेको छ। यो दुखद घटनाले विमान चालकहरूको स्वास्थ्य र तनावबारे फेरि बहस सुरु गरेको छ।