चैत १५ मा तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेर फरार भएका मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको उनको दाबी थियो, तर हिंसा भड्किएपछि उनी बिएबी–४२०८ नम्बरको स्कोर्पियो चढेर भारततिर भागेका थिए।
तीनकुनेबाट भागेर उनी ललितपुरको इमाडोल हुँदै चापागाउँ, बनेपा र झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज पुगे। त्यहाँबाट भारतको प्रयागराज, लखनउ, राजस्थान घुम्दै आसाम पुगेका थिए। आसाममा एक हिन्दुवादी नेताको घरमा लुकेर बसेका उनलाई बिहीबार साँझ पक्राउ गरियो। प्रसाईंले “मैले आफैँ पक्राउ दिएको हुँ” भने पनि प्रहरी भन्छ– उनले आत्मसमर्पण गरेका होइनन्।
प्रहरीको विशेष ब्युरो र उपत्यका अपराध अनुसन्धान टोलीले उनको खोजी गरेको थियो। विशेष ब्युरो प्रयागराजमा फेला नपरेर फर्किएको थियो भने अपराध अनुसन्धान टोलीले आसामबाट पक्राउ गरेर झापाको भद्रपुर ल्यायो। नेपाल-भारतबीच सुपुर्दगी सन्धि नभएकाले प्रहरीले उनलाई भद्रपुरमै पक्राउ गरेको देखाउन खोज्यो। बिहीबार राति “खोजी जारी छ” भनेर विज्ञप्ति निकालेका प्रहरी प्रवक्ता दिनेश आचार्यले २४ घण्टा नबित्दै अर्को विज्ञप्तिमा “भद्रपुरबाट पक्राउ गर्यौँ” भने।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंले भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणमै सञ्चारकर्मीलाई भनेका छन् – “म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो।” उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँले गिरफ्तारी दिएको दाबी गरेका छन्।
भारतबाट पक्राउ परेको भनिए पनि प्रहरीले उनलाई भद्रपुर क्षेत्रबाटै नियन्त्रणमा लिइएको बताएको छ। शुक्रबार उनी काठमाडौं ल्याइएका छन्। यो कुराले त उनको बेपत्ता र पक्राउको नाटकमा नयाँ मोड ल्यायो। अब काठमाडौं आएपछि उनको आन्दोलन र यो लडाइँ कता जान्छ, त्यो हेर्न बाँकी छ!