७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ हल्ला-खल्ला ऊर्जामन्त्री खड्काले भारतलाई पहिले नै दिइएको वचन पूरा गर्न जम्मै अरूण भारतलाई सुम्पने सुर

ऊर्जामन्त्री खड्काले भारतलाई पहिले नै दिइएको वचन पूरा गर्न जम्मै अरूण भारतलाई सुम्पने सुर

द्वारा ओइ न्युज संवाददाता
2 मिनेटमा पढ्नुहोस्

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि ऊर्जामन्त्री दीपक खड्काको भारतसँगको गोप्य वचन र रणनीति बाहिरिएको छ। दुई महिनाअघि नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त प्राविधिक समितिको १६ औं बैठकमा भारतीय अधिकारीले १०६३ मेगावाटको अपर अरूण जलविद्युत आयोजना भारतलाई दिने कुरामा मन्त्री खड्का सकारात्मक भएको जिज्ञासा राखेका थिए। यो प्रश्नले मन्त्रीले संखुवासभाको यो ठूलो आयोजना भारतलाई सुम्पने वचन दिएको रहस्य खुलेको छ।

चीनको सीमा नजिकै बन्ने यो आयोजनालाई विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय र स्वदेशी लगानीमा बनाउने योजना थियो। तर, मन्त्रालयका एक सहसचिवका अनुसार, खड्काले विश्व बैंकलाई भूराजनीतिक चेपुवामा पारेर भारतलाई दिने खेल खेलिसकेका थिए। अझ रोचक कुरा, उनै मन्त्रीले संसदमा उभिएर “भारतकै कारण लोडसेडिङ हट्यो” भनेर गर्व गरेका थिए।

अरूण नदीमा भारतीय कम्पनी सतलज जलविद्युत निगमले पहिल्यै ९०० मेगावाटको अरूण तेस्रो, ६७९ मेगावाटको तल्लो अरूण र ४९० मेगावाटको अरूण–४ मा हात हालिसकेको छ। सतलजका नेपाली एजेन्ट दीपक भट्ट, जसका दाजु सुशील लगानी बोर्डका सिइओ थिए, बिचौलियाको भूमिकामा छन्। भट्ट दाजुभाइले सतलजको एजेन्सी खोसेर तल्लो अरूणको पिडिए गराए। दीपकको प्रभाव सचिवदेखि सरकार फेर्नेसम्म छ, र धितोपत्र बोर्ड, बीमा प्राधिकरणमा आफ्ना मान्छे राखेपछि गभर्नरमा पनि यस्तै योजना बनाउँदैछन् भन्ने हल्ला छ।

कुलमानले भने अपर अरूण स्वदेशी लगानीमा बनाउनुपर्छ भन्ने अडान लिएका थिए। उनको भनाइ छ, “विश्व बैंकले लगानी नगरे पनि नेपाली लगानीमै बनाउनुपर्छ, यो देशको हितमा छ।” तर, भारतले विश्व बैंकलाई दबाव दिएर लगानी रोक्ने र अपर अरूण सतलजलाई दिने रणनीति बनाएको देखिन्छ। विश्व बैंकका अध्यक्ष अजय वाङ्गा भारतीय मूलका छन्, र गत शुक्रबार बैंककमा ओली–मोदी भेटमा यो विषय उठेको हुन सक्छ।

शुक्रबारै घिसिङले पत्रकार सम्मेलनमा भने, “अपर अरूण नेपाली जनताको हितमा छ। षड्यन्त्र गरेर प्राधिकरणबाट बाहिर लैजान खोजिए प्रतिरोध होस् भन्ने विश्वास छ।” यो गफले त ऊर्जा क्षेत्रमा ठूलो खेल भइरहेको देखायो – मन्त्री खड्का भारतको रणनीतिमा सहयोगी बनेर कुलमानलाई हटाएको र अपर अरूण भारततिर धकेल्ने प्रयास गरेको। अब यो कुरा कता जान्छ, जनताले कसरी लिन्छन्, हेर्न बाँकी छ!

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार १२:५८

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio