प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने स्वार्थी तत्वहरू असफल भएको बताउँदै समृद्धि र विकासको यात्रामा कुनै अवरोध नआउने दाबी गरेका छन्। शुक्रबार बुटवलमा एमाले रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूले एमालेलाई विभाजन गर्न खोजे पनि त्यो प्रयास विफल भएको उल्लेख गरे।
“एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, तर मपछि पनि मभन्दा बलिया नेताहरू पार्टीमा आउनेछन्। यो देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छौँ,” ओलीले भने। उनले मान्छेको घरमा आगो लगाउने र चोरी गर्नेहरूले क्रान्ति गर्न नसक्ने भन्दै प्रतिगामी सोचको आलोचना गरे।
प्रधानमन्त्री ओलीले राजतन्त्र र पञ्चायतको कुशासनविरुद्ध जनताको बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताए। “प्रतिगामी तत्वहरूले अराजकता र अफवाह फैलाएर यो व्यवस्थालाई बदनाम गर्न खोज्छन्, तर हामी विचलित नभई समृद्धि र सुशासनको बाटोमा छौँ,” उनले भने। जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त आधुनिक युगमा बेकार भएको भन्दै उनले गठबन्धन सरकार जनताको समृद्धिका लागि कटिबद्ध रहेको दोहोर्याए।
कांग्रेस र एमालेको संयुक्त सरकारले मुलुकलाई स्थिरता दिने दाबी गर्दै ओलीले भने, “यो सरकार आगामी निर्वाचनसम्म जान्छ, ढल्न त के हल्लिन पनि हल्लिँदैन।” उनले आफ्नो नेतृत्वमा लुम्बिनीमा राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र र कृषि उत्पादन क्षेत्रको विकासजस्ता योजना अघि बढेको स्मरण गराए। यो सम्बोधनले एमालेको विकास एजेण्डा र सरकारको स्थायित्वमाथि ओलीको विश्वास झल्काएको छ।
२८ चैत्र २०८१, शुक्रबार १७:३५