चैत १५ मा राजावादीको प्रदर्शनमा घाइते भएका आशिष बोहोरालाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले गत शुक्रबार डिस्चार्ज गर्यो, तर औषधिको १८ हजारको बिल थमाइदियो। उनका बाबु हर्कुस बोहोरा भन्छन्, “बिल देख्दा त म छक्क परेँ। सरकारले त निःशुल्क गर्छु भनेको थियो, तर पैसा नतिरेसम्म छोरालाई छाड्ने कुरै भएन। खोजेर पैसा तिरेर बल्ल घर ल्याएँ।”
आशिषको परिवारको दुखेसो छ – उनी आन्दोलनमा थिएनन्, फार्मेसीको मार्केटिङको काम गर्छन्। बानेश्वरका आशिष त्यो दिन ड्युटीमै थिए। भाइ अमृत भन्छन्, “जडिबुटी नजिक टायर बालिरहेको देखेर दाइ मोटरसाइकल साइड लगाएर हेरिराछन्, त्यही बेला हिपमा गोली लाग्यो।” हर्कुस थप्छन्, “छोरा बाँच्यो, त्यो नै ठूलो कुरा। बेड चार्ज त फ्री गरिदियो, तर औषधिको १९ हजार खर्च लाग्यो। सरकारका कुरा सुनेको छु, बिल राख्नू, पैसा दिन्छौँ भन्छन्, हेरौँ के गर्छन्।”
केएमसीले ४७ जना घाइतेको उपचार गर्यो, तर औषधिको पैसा सबैले तिरे। अर्की घाइते, उदयपुरकी २२ सालकी रेविका खत्री, अहिले निजामती अस्पतालको आईसीयूमा छिन्। उनी खाद्य गोदामको काम सकेर डेरा फर्किंदै थिइन्। कोटेश्वरमा आगजनी देखेर डराएकी उनले दाजु दिनेशलाई बोलाएकी थिइन्। दाजु-बहिनी गल्लीबाट डेरा जाँदै थिए, तर दुबैलाई गोली लाग्यो। दिनेश डिस्चार्ज भए, तर रेविकाको उपचार चलिरहेछ। भान्जा सुरज भन्छन्, “दुई लाखभन्दा बढी खर्च भयो। सरकारले निःशुल्क भन्छ, तर पैसा कहिले पाइन्छ थाहा छैन।”
भोजपुरका डिल्लीप्रसाद लुइँटेल, २७, ट्रमा सेन्टरमा छन्। कम्मरमा गोली लागेको थियो। उनी भन्छन्, “यहाँ फार्मेसीमा सबै औषधि पाइँदैन, आफैँ किनेर ल्याउनुपर्छ। म आन्दोलनमा थिइनँ, तर यस्तो हालत भयो। सरकारले राहत दिन्छ भन्ने सुन्या छैन।” अर्का भोजपुरका शम्भु दर्जी, ३०, को पनि ट्रमामै उपचार छ। पाखुरामा गोली लाग्यो। “फेरि अप्रेसन गर्नुपर्छ, १५ हजारभन्दा बढी खर्च भइसक्यो। सरकारले पैसा दिन्छ कि अलमलमै छु,” उनले गुनासो गरे। उनी कतार जान लाग्दा कोटेश्वरमा गोली खाएका थिए।
सरकारले “सबैको निःशुल्क उपचार” भन्यो, तर केएमसीले औषधिको पैसा लियो। प्रशासन प्रमुख नारायण दाहाल भन्छन्, “बेड र चिकित्सकीय खर्च फ्री गर्यौँ, तर औषधिको पैसा लिन्छौँ भनेर पहिल्यै भनेका थियौँ। स्वास्थ्य र अर्थ मन्त्रालयका मान्छे आएर बिल लिएर भुक्तानी गर्छौँ भन्छन्।”
स्वास्थ्य मन्त्रालयका डा. प्रकाश बुढाथोकी भन्छन्, “सबैको निःशुल्क भयो। केएमसीमा पैसा तिरायो भन्ने गुनासो आएकै छैन। बिरामीले पत्रकारलाई फोन गर्न सक्छन्, हामीलाई किन खबर गरेनन्? बाहिरबाट औषधि किनेका रहेछन्, सोधभर्ना दिन समन्वय गर्छौँ।”
यो गफ त बल्ल सुरु भएको जस्तो छ, सरकारले पैसा दिन्छ कि घाइतेले नै बोक्नुपर्छ, हेर्दै जाऔँ!
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलवार १८:५०