सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको घटनाले मन थाम्नै मुस्किल छ। फागुन २९ बिहान “घाँस काट्न जान्छु” भनेर घरबाट निस्केकी गुलसना हराइन्। उनकी आमा जेहदा खातुनले भोलिपल्ट मिर्चैया प्रहरीमा खोजीको निवेदन दिइन्। १३ दिनपछि चैत १२ मा घुर्मी खोलाको किनारमा बोरामा बाँधिएको सडेगलेको शव भेटियो।
सिरहा प्रहरीका अनुसार, जङ्गली जनावरबाट मकै जोगाउन वीरबहादुर सार्कीले थापेको धरापमा गुलसना परेकी थिइन्। अनुसन्धानमा बिहान ९ बजे धराप थापेको र केहीबेरमै बालिका चिच्याएको खुलेको छ। सार्कीले शवलाई बोरामा हालेर खोलानजिक गाडेका थिए। मिर्चैया प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो र मधेस प्रदेश प्रहरीको टोलीले चैत २४ मा २४ वर्षीय सार्कीलाई पक्राउ गर्यो। घटनास्थलबाट गुलसनाको हँसिया पनि बरामद भयो।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवान भन्छन्, “सार्कीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइयो। जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर मिर्चैयामा अनुसन्धान भइरहेछ।” यो गफले त एउटा निर्दोष बालिकाको ज्यान कसरी गयो र दोषी पक्राउ पर्यो भन्ने देखायो। अब अदालतले कस्तो फैसला गर्ला, त्यो हेर्न बाँकी छ!
प्रकाशित मिति:२६ चैत्र २०८१, बुधबार १३:३५